बागलुङ, ७ माघ– जिल्लामा झण्डै तीन प्रतिशत बालबालिका अझै खोपको पहुँचबाट छुट्ने गरेका छन् ।
९० प्रतिशत खोपको पहुँच रहेकोमा हाल ८८ प्रतिशत बालबालिकाले पुर्ण खोप पाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । खोप सुपरभाईजर राजु खत्रीका अनुसार ढोरपाटन नगरपालिकामा १९ प्रतिशत बालबालिका खोप पाउनबाट छुट्ने गरेका छन् ।
ढोरपाटनको माथिल्लो क्षेत्रको भौगोलिक विकटता र खोपप्रतिको चासो नहुँदा बालबालिका छुट्न गएको खत्रीले बताए । ढोरपाटनका ८९ प्रतिशत मात्र बालबालिकाले खोपको पहुँचमा छन् । गत वर्ष विभिन्न कारणले १९ जना नवजात शिशुको मृत्यु भएको थियो ।
बागलुङलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको झण्डै साढे चार वर्ष पुग्यो । बच्चा जन्मिएपछि २३ महिनाभित्र प्राप्त गर्ने खोपको मात्रा पाएपछि यसलाई पुर्ण खोपको रुपमा मानिन्छ । पुर्ण खोप प्राप्त गरेको सुनिश्चितापछि २०७५ असारमा पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिए पनि अझै ३ प्रतिशत बालबालिका खोपको पहुँच बाहिर रहेका हुन् ।
पुर्ण खोप सुनिश्चित गरेपनि यसको कार्यान्वयन र दिगोपनमा भने चुनौती देखिएकोप्रति बागलुङका सरोकारवालाले चिन्ता जाहेर गर्दै विषेशगरी आमा र बच्चाको स्वास्थ्यप्रति स्थानीय तह गम्भिर बन्नुपर्नेमा सुझाएका छन् ।
स्वस्थ जनशक्ति निर्माणमा खोपको निकै महत्व हुने हुँदा बालबालिकाको पुर्ण खोप पाउने अधिकार सुनिश्चित गर्न स्थानीय तहले थप योजना अगाडी बढाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक अमरबहादुर थापाले बताउँछन् ।
स्थानीय सरकारले स्वास्थ्यलाई आधारभुत प्राथमिकतामा राख्न नसकेकै कारण अझैपनि बालबालिकाहरु खोपबाट बञ्चित हुनुपरेको स्वास्थ्य सेवा विभाग खोप महाशाखाका खोप अधिकृत भरत भण्डारी बताए । ‘स्थानीय तहलाई एकल अधिकार दिए पनि स्थानीय तहले स्वास्थ्य शिक्षाभन्दा पुर्वाधार निर्माणमा बढि जोड दिएका छन्’ भण्डारीले भने ।