बागलुङ, १४ माघ– मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । बाह्र स्थायी कर्मचारी दरबन्दी रहेपनि हाल कार्यालयमा चार जनामात्रै कार्यरत छन् । मालपोत अधिकृत कार्यालय प्रमुख हुने व्यवस्था भएपनि सुब्बाका भरमा कार्यालय सञ्चालनमा छ ।
मालपोत एक अधिकृत, तीन नायब सुब्बा, तीन खरिदार, एक लेखापाल, एक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगीको दरबन्दी रहेकामा हाल दुई नायब सुब्बा, एक कम्प्युटर अपरेट र एक लेखापाल मात्र कार्यरत छन् । नायब सुब्बा सूर्यप्रसाद शर्मा कार्यालय प्रमुख छन् । यहाँ वर्षौँदेखि मालपोत अधिकृत पद रिक्त छ ।
कर्मचारी न्यून हुँदा सेवाग्राहीलाई चाहेर पनि छिटो सेवा प्रदान गर्न नसकेको शर्माले बताए । दैनिक सयौँको संख्यामा सेवाग्राही आउने गरेको र उनीहरूलाई घण्टौँ लाइनमा कुराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सम्बन्धित निकायमा पटक–पटक कर्मचारी पठाउन माग गरेपनि सुनुवाइ नभएको शर्माले गुनासो गरे ।
निसीखोला गाउँपालिका–६ बाट घरजग्गा नामसारीका लागि मालपोत आउनुभएका भोजबहादुर घर्तीले दुई दिन कुर्दा पनि काम बन्न नसकेको गुनासो पोखे । ‘सरकारलाई कर तिर्छौ तर सेवा लिन निकै सास्ती छ’ घर्तिले भने ।