म्याग्दी, १७ माघ– जिल्ला कुष्टरोगका नयाँ विरामीको संख्या शुन्यमा झरेको छ । दुई आर्थिक बर्षदेखि जिल्लामा कुष्टरोगका नयाँ विरामी पहिचान नभएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जिल्लामा कुष्ठरोगका नयाँ विरामी पहिचान नभएको बताए । लम्सालले दुई बर्षयता जिल्लामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा कोही पनि नयाँ कुष्टरोगका विरामी दर्ता नभएको जानकारी दिए ।
कार्यालयका अनुसार, दुई बर्ष अघि म्याग्दीमा कुष्टरोगका विरामीको संख्या १३ जना रहेको थियो । अहिले दुई बर्षअघि नै पहिचान भएका पाँच जनाले उपचार गराइरहेका छन् । दुई बर्षअघि प्रति १० हजार जनसंख्यामा १ दशमलव ९ प्रतिशतमा कुष्ठरोग देखिएकोमा अहिले कुष्ठरोगको संक्रमणदर घटेर ० दशमलव ४७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
बेनी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. शंकर लामिछानेले कुष्टरोगको पहिचान समयमै भएर उपचार गरेमा रोग निको हुने र कुष्टरोगका कारण हुनसक्ने अपांगता लगायतका स्वास्थ्य समस्या समेत नहुने भएकाले लक्षण देखिएका र पहिचान भएका विरामीहरुले उपचार गराउनुपर्ने बताए । उनले ६ देखि १२ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्टरोगको उपचार हुने भएकाले कुष्टरोगलाई भेदभाव र लान्छनाको दृष्टिकोणबाट हेर्न नहुनेमा जोड दिन्छन् ।