स्वस्तिमा जन्मघर छाडेपछि बिस्तारै त्यताको भावनात्मक प्रेममा कमी आउँदै गर्छ भन्ने तर्कमा असहमति राख्छिन् । उनी विवाह भएको समय बढ्दै जाँदा झनै जन्मघरको यादले बढी सताउन सक्ने बताउँछिन् । ‘विवाह गरेर जाने बेलाभन्दा पनि अरुको घरमा गएपछि नयाँ एक्सपेरियन्स हुन्छ । जुन जन्मघरकोभन्दा भिन्न हुन्छ । अनि माइतीको याद बढी आउँछ ।’ उनी भन्छिन् ।
आफ्नो जन्मघर छाडेर अर्काको घरमा पुगेपछि कहिलै पनि नभोगेको अनुभव बटुल्नुपर्छ । त्यतिबेला झनै माइतीघरको याद आउने बताउँछिन् स्वस्तिमा ।
भनिन्छ, बिहे गरेर अर्काे घरमा गएपछि आफ्नो समृद्धिसँगै चेलीले माइतीको समृद्धिको पनि चासो राख्छन् । कतिपयले त आफ्नो घरभन्दा पनि माइतीको समृद्धिमा धेरै चासो राख्ने गरेको उदाहरण भेटिन्छ । के यस्तै हुन्छ त ? स्वस्तिमा यसमा असहमति राख्छिन् । उनी भन्छिन् ‘कहिलै पनि जन्मघर र कर्म घरमा तुलना गरेर हेरिँदैन । आफ्नो प्रगतिसँगै आफ्नो माइतीघरको पनि उन्नति होस् भन्ने सोचाइ आउनु स्वाभाविक हुन सक्छ । तर मेरो कर्म घरभन्दा जन्म घर राम्रो होस् भन्ने हुँदैन ।’ उनी विवाहको जति नै वर्ष भएपनि आफ्नो माइतीप्रतिको माया र सद्भावमा कमी नआउने धारणा राख्छिन् ।
१० वर्षअघि बेहुलीको भेषमा काठमाडौंबाट विराटनगर पुगेकी सविना कार्कीको मन अहिले पनि विवाहको कुरा सुन्नेबित्तिकै भारी भएर आउँछ । घरमा बुबाले छोरीको करियर बनाएर मात्रै विवाह गर्ने अडान लिएका कारण उनको सानै उमेरमा विवाह त भएन तर बुबाले देखाएको त्यो अभिभावकत्वले उनलाई माइतीघर झन् बढी प्यारो हुन थाल्यो । अहिले पनि विवाहमा अन्माएको भिडियो हेर्दा उनी एकोहोरो हुन्छिन् । उनलाई विवाहकै दिन आफ्नो स्वतन्त्रता खोसिएको जस्तो अनुभूति हुन्छ ।
स्वतन्त्रता खोसिएको अनुभूति भए पनि उनले घरमा त्यस्तो महसुस गर्नुपरेको भने छैन । तर पनि माइतीघरको कुरा सुन्नेबित्तिकै किनकिन उनी भावुक बन्छिन् । विवाहपछि रातारात श्रीमान्को घर आफ्नो घर बन्छ । तर भावनात्मक रुपमा आफ्नो घर बन्न केही समय लाग्ने कार्की अनुभव सुनाउँछिन् । ‘श्रीमान्को घर आफ्नो मान्नुपर्छ भन्ने सैद्धान्तिक कुरा हो, तर यसको लागि समय लाग्दो रैछ ।’
विवाहको पहिलो वर्ष कार्कीले विराटनगरमा दशैं मनाइन् । उनले अर्कै दुनियाँ दशैं मनाएको अनुभूति भयो । उनी भन्छिन् ‘भलै हामी कर्म घरमा आइन्छ । तर जन्मदिने आमा र जन्म घरको छुट्टै महत्व हुन्छ ।’
बाबु/आमाले दिएको निःस्वार्थ मायाले पनि माइतीघरप्रति चेलीको चासो बढेको हुन सक्छ । जन्मिएर आफ्नो बाल्यकाल बिताएको ठाउँ भएकोले पनि त्यहाँको याद बढी भएको हुन सक्छ ।
सविनालाई माइतीमा बिताएको बाल्यकालको मिठास र सम्झनाले विवाहको १० वर्ष कटिसक्दा पनि सताइरहन्छ । अहिले माइतीसँगको आउजाउ अलिक कम हुन्छ । तर पनि माइतीसँगको भावनात्मक सम्बन्धले मन भने चटक्क बिर्सिन सकिँदैन । उनी भन्छिन् ‘चेलीको आशीर्वाद र श्राप लाग्छ भन्छन् मलाई त त्यो सही लाग्छ । नारी हृदय हो बढी भावनात्मक बनिहाल्छ त्यसैले अहिले पनि माइती घर भन्नेबित्तिकै मन फुरुंग भइहाल्छ ।
छोरीलाई पठाएपछि बाबुआमाको प्राथमिकता पनि कम हुँदै जान्छ । विवाहको लामो समय चल्दै जाँदा छोरी श्रीमान्को घरमा रमाउन थाल्छिन् । त्यो देखेर बुबाआमाले पनि त्यसैमा आफ्नो खुसी ठान्छन् । विवाहपछि नियमित भेटघाट लम्बिँदै जान्छ । आफ्नै छोराछोरी जन्मिएपछि नै किन नहोस् माइतीप्रतिको मायामा भने कमी आउँदैन । बरु झनै महत्व बढ्दै जान्छ । छोरी पनि आफ्नै दुनियाँमा रमाएको देखेको देखेर बाबुआमालाई पनि गर्व महसुस हुन्छ ।
सिन्धुपाल्चोकबाट १६ दिनअघि विवाह गरेर काठमाडौं आएकी नानी थापाको विवाह अनुभव अलिक फरक छ । १८ वर्षदेखिको चिनजान र आउजाउ भएको घरमा जाँदा उनलाई माइती र श्रीमान्को घरमा त्यति फरक अनुभूति नहुनुपर्ने हो । तर उनी विवाह मण्डपबाट अन्मिएर जाँदै गर्दा धेरै नरमाइलो अनुभव भएको सुनाउँछिन् ।
माइतीमा जाँदा परिवारले अहिले पनि आफूलाई बच्चाको रुपमा व्यवहार गर्ने भएकोले घरमा जस्तो व्यवहार भए पनि माइती प्यारो हुने गरेको उनको अनुभव छ ।
त्यसो त उनी विवाहपूर्व पनि माइतीघरमा धेरै बस्ने गर्दैनथिन् । तर पनि उनलाई विवाह दिन गोत्र परिवर्तन गर्ने, अन्माएर पठाउने जस्ता संस्कारले मनमा चसक्क पार्यो । उनलाई सधैंको लागि पठाएको जस्तो अनुभूति भयो । यसले उनलाई नराम्रो बनायो । उनी भन्छिन् ‘साँझमा चरा पनि गुँड खोज्दै घर आउँछ भन्ने चलन छ । तर म सिन्धुपाल्चोकबाट साँझमा अन्माएर घरबाट पठाउनु भयो । मलाई त्यो वातावरणले पनि अलिक भावुक बनायो । आफूलाई जन्मेको घरबाट अलग्याउन लागेको भान भयो । म भावुक भएँ ।’
विवाह गरेको लामो समयपछि माइतीप्रतिको प्रेममा कस्तो अनुभव हुन्छ त्यो उनलाई थाहा छैन । तर पहिलेभन्दा झनै माया बढ्छ भन्ने विश्वास उनी व्यक्त गर्छिन् ।
नानीको विवाह व्यावहारिक समस्याका कारण अलिक भिन्न खालको भएको उनी सुनाउँछिन् । बाबु नभएको कारणले उनमा आफैँले आफ्नो विवाहको तिरोतारो मिलाउनु पर्ने जिम्मेवारी थियो । त्यसले पनि उनलाई भावनातिरभन्दा धेरै व्यावहारिक कुराले सतायो । तर पनि कठोर हुन खोजेपनि भावनाले नछाड्ने उनी बताउँछिन् ।
अहिले पनि नानी माइती घरमा आमा वा दाजुभाइसँग दैनिक कुराकानी गर्छिन् । विवाहको २ हप्तामा नै २ पटक माइत पुगिसकिन् । उनी भन्छिन् ‘माइती घर भनेको माइती नै रहेछ ।’
विवाहको संरचना एवं आफ्नो घर छाडेर थर त्याग्नुपर्ने व्यवस्था कहिलेदेखि सुरु भयो होला ? त्रिभुवन विश्वविद्यालयकी संस्कृति विषयकी अध्यापनरत निर्मला पोखरेलका अनुसार यसको सामाजिक परिदृश्यलाई हेर्दा यो हिन्दु धर्ममा हिमालयपुत्री पार्वतीसँग कैलाशपति महादेवले गरेको विवाहको समयदेखि सुरु भएको मानिन्छ । उनले आफ्नो विवाह गर्दा सबै प्रकि्रयाहरु पूरा गरेका थिए भन्ने विश्वास गरिन्छ । धर्मशास्त्र अनुसार त्यतिबेला हिमालयले छोरी बिदाइ गर्ने बेलामा छोरीको लागि चाहिने सामग्री दाइजोको रुपमा दिन लागेका थिए । तर शिवले दाइजो अस्वीकार गरेको प्रसंग धर्मशास्त्रमा भेटिने अध्यापक पोखरेल बताउँछिन् ।
विवाहमा गोत्र फेर्ने र श्रीमान्को घर जाने चलन भने कहिलेदेखि सुरु भयो भन्ने यकिन नरहेको पोखरेल बताउँछिन् । जतिबेलदेखि पूर्ण पितृसत्ताको चलन सुरु भयो त्यतिबेलादेखि नै विवाहपछि पतिको घर जाने र थर एवं गोत्र फेर्ने चलन भएको अनुमान पोखरेलको छ । शास्त्रीय लेखोटलाई हेर्दा यो महाभारतकालपछि सुरुभएको चलन हुन सक्ने उनी बताउँछिन् । वैदिक कालमा पूर्ण पितृसत्ता थिएन । कतिपय ठाउँमा त बरु मातृसत्ता नै रहेको उल्लेख पाइन्छ । तर त्यसपछि बिस्तारै पितृसत्ता सुरु भयो जसले गर्दा विवाहमा पतिको घर जाने र पत्नीले थर फेर्ने चलन सुरु भएको मान्न सकिन्छ ।
पराइको घरमा एडजस्ट हुन गाह्रो-मनोविद् गोपाल ढकाल
मनोविद् गोपाल ढकालको मनोपरामर्शदाता मार्क नेपालमा केही समयअघि एक दम्पती मनोपरामर्शको लागि आए । काठमाडौं स्थायी घर भएका ती दम्पतीबीच विवाहको ३ महिनामा नै एड्जस्टमेन्ट डिसअर्डरको समस्या भएर उनीहरुबीच सम्बन्धविच्छेद भयो । मनोविद्हरु नवविवाहित दम्पतीबीच एकअर्काको व्यवहारमा घुलमिल हुन नसक्दा निम्तिने समस्या नै एड्जस्टमेन्ट डिसअर्डर हो ।
सम्बन्धविच्छेद भएका ती दम्पती दुवै बैंकका जागिरे थिए । उनीहरुबीच प्रेम विवाह भयो । केटाको घरमा आमा एकदमै संस्कारी र बिहानबेलुका आस्थापूर्वक पूजाआजा गर्ने स्वाभावकी थिइन् । बुहारी भने बैंकमा काम गर्ने भएकोले अलिक आधुनिक स्वभावकी थिइन् । विवाहको केही समयमा नै घरमा खटपट सुरु भयो । श्रीमान्ले बुढी आमालाई सम्झाउन भन्दा श्रीमतीलाई परिवर्तन गराउन सम्झाउन थाले । कुरा बिगि्रँदै गयो । त्यसपछि उनीहरुको ३ महिनामा नै सम्बन्धविच्छेद भयो ।
घरको एउटा वातावरणमा हुर्किएका मान्छे अर्काे व्यवहारमा एड्जस्ट हुन गाह्रो हुन्छ । एडजस्टमेन्ट डिसअर्डरमा निद्रा नलाग्ने खान मनलाग्ने डर लाग्ने जस्तो समस्याहरु देखिन्छ । परामर्शमा आएकाहरुमध्ये धेरैमा प्रेम विवाह छ भने अर्काे परिवारले स्वीकार्छ कि स्वीकार्दैन ? भन्ने जस्ता कुराले समस्या गराउँछ । यसबाहेक पनि खानपानमा भिन्नता, भौगोलिक प्रतिकुलता जस्ता समस्याले नवविवाहितमा समस्या निम्त्याउँछ ।