बागलुङ, २० माघ– रोट्रयाक क्लव अफ गलकोट बागलुङले माघ १२ गते तातोपानीको ताउलोमा परि गम्भीर घाईते भएका बालकको उपचारका लागि सहयोग गरेको छ ।
गलकोट नगरपालिका–८ काँडेबास थालेपोखरामा भैंसीलाई खुवाउन तताएको तातोपानीको ताउलोमा परी गम्भीर घाईते बालक सुलभ बिकको उपचारका लागि परिवारलाई क्लवले १२ हजार ७२ रुपैया सहयोग हस्तान्तरण गरेको हो ।
आर्थिक अवस्था कमजोर रहेका बालकको उपचारमा थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले संस्थाको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको रोट्रयाक क्लव अफ गलकोटका अध्यक्ष ईश्वर गौतमले बताए ।
क्लवले विभिन्न समयमा आपत् विपतमा परेका नागरिकलाई सहयोग गर्दै आईरहेको छ । क्लवले आर्थिक सङकलन अभियान सञ्चालन गरि जम्मा भएको रकम बालकको परिवारलाई हस्तान्तरण गरेको संस्थाका सचिव लक्ष्मी पुनले जानकारी दिइन् ।
बिकको उपचार खर्चमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको लागि सम्पूर्णलाई अपील गरेको थियो । घाईते बालकको शरिरको पछाडिको भाग जलेर खाला गएको र कम्मर, हिप र ढाडमा बढि असर पुगेको चिकित्सकले बताएका छन् । उनको अहिले युनाईटेड मिशन अस्पताल तानसेन पाल्पामा उपचार भईरहेको छ ।