काठमाडौं, २१ माघ– बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ । ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन्। मस्ट अक्लिमा खातुनले एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल फर्काईन् । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा खातुनको गोलबाट तेस्रो मिनेटमै बंगलादेशले अग्रता बनाएको थियो ।
खेलको १३ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाईन् । खेलको २४ औं मिनेटमा नेपालकी मनमायाले गोल गरेपछि खेल २–१ को स्थितिमा रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा रिपाले गोल गर्दा बंगलादेश ३–१ ले विजयी भयो ।
यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।