बागलुङ, २२ माघ– लामो समयदेखिको खडेरीले पसाउन थालेको गहुँ सुक्न थालेपछि बागलुङका किसान चिन्तित बनेका छन् । समयमै वर्षा नहुँदा गहुँ सुक्न थालेको गलकोट नगरपालिका वडा नं. ५ का इन्द्रबहादुर खत्रीले बताए ।
‘बारीको मकै भित्राएर गहुँ छरेपछि रोकिएको वर्षा अहिलेसम्म नहुँदा बीउसमेत उत्पादन नहुने चित्ना छ’ खत्रीले भने । बागलुङको गलकोट, जैमिनी, निसीखोला र बरेङमा गहुँ तथा ढोरपाटन, तमान र ताराखोला गाउँपालिकामा जौँ उत्पादन राम्रो हुन्छ ।
करिब आठ रोपनी खेत तथा बारीमा लगाएको गहुँ सिँचाइ अभावले सुक्दै गएको जैमिनीका जैमिनीका कृषक कृष्णप्रसाद शर्माले बताए । ‘खेतमा कुलोबाट पानी लगाइयो, पाखो बारीमा लगाएको गहुँ सुकेर मर्न थालिसक्यो’ शर्माले भने ।
बागलुङमा कूल सात हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यसवर्ष समयमा वर्षा नहुँदा गहुँ उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बागलुङले प्रक्षेपण गरेको छ । केन्द्रका सूचना अधिकारी कुमार पुनका अनुसार, सिँचाइ सुविधा भएका खेत र आकाशे पानीको भरमा खेती गरिने बारीमा पनि गहुँ खेती गरिदै आईएको छ ।
‘गहुँ लगाएको दुई÷तीन हप्तामा सिँचाइको आवश्यकता पर्छ, तर यसवर्ष वर्षा नहुँदा गहुँ उत्पादनमा कमी आउने निश्चित छ’ पुनले भने । बागलुङमा गौतम, विजय, स्वर्गद्वारी र धौलागिरि जातको गहुँको खेती गरिन्छ ।