काठमाडौं, २२ माघ– साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले भूटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो ।
प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । नेपालको जितमा अमिषा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् भने कप्तान प्रिती राईले एक गोल थपिन् ।
खेलको १९ औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै, खेलको पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन् ।
त्यसपछि खेलको ६१औँ मिनेटमा कप्तान प्रितीले गोल गर्दै नेपाल ३–० ले अघि रह्यो । त्यस्तै खेलको ६२ औँ मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भूटानको सहभागिता रहेको छ ।