बागलुङ, २३ माघ– माँ भद्रकाली सेवा समूहले साहित्य, शिक्षा र समाजसेवामा सक्रिय दुई महिलालाई पुरस्कृत गरिएको छ । बागलुङमा आयोजित कार्यक्रममा गरी साहित्यकार लतादेवी प्रधान र शिक्षासेवी शर्मिला प्रधानाङ्ग पुरस्कृत गरिएको हो ।
बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, समूहका अध्यक्ष काजी रोशन, संरक्षक सुन्दरी श्रेष्ठ र तारा प्रसाद श्रेष्ठले प्रधान र प्रधानाङ्गलाई सम्मान–पत्रसहित दोसल्ला ओढाई सम्मान गरेका थिए । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारको राशी १२ हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, समाजसेवी देव बहादुर श्रेष्ठ, राधा माधव सेवा समितिका अध्यक्ष भिमसेन श्रेष्ठ, दिपक प्रधान र पुरस्कृत व्यक्तित्व लतादेवी प्रधान र शर्मिला प्रधानाङगले मन्तव्य व्यक्त गरेका थिए ।
पुरस्कृत व्यक्तित्वहरुको बारेमा संरक्षक तारा प्रसाद श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रममा राधा माधव सेवा समितिको भवन निर्माणको लागि माँ भद्रकाली सेवा समूहका अध्यक्ष काजी रोशन, संरक्षकहरु सुन्दरी श्रेष्ठ र तारा प्रसाद श्रेष्ठले राधा माधव समितिका अध्यक्ष भिमसेन श्रेष्ठलाई ५१ हजार हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जेष्ठ महिलाहरु बद्धि एक्रेकार, मनकुमारी बोहरा र पवित्रा सुनारलाई ३ हजार नगद र उपहारसहित सम्मान गरिएको थियो । माँ भद्रकाली सेवा समूहको संस्थागत विकासको लागि अष्ट्रेलिया निवासी सन्दिप राजभण्डारी ‘इच्छा’ले २५ हजार र काठमाडौं ढुंगेधारा निवासी.सविना कायस्थले १० हजार रुपैयाँ उपलब्ध गराएका थिए ।
कार्यक्रम सेवा समूहको अध्यक्ष काजी रोशनको अध्यक्षता, संरक्षक सुन्दरी श्रेष्ठको स्वागत र संस्थाकी सचिव निर्मला जिसी पन्तको संचालनमा सम्पन्न भएको थियो ।