बागलुङ, २४ माघ– लेखक खगेन्द्र संग्रौलाको जीवनीमा आधारित ‘एक बागी’ पुस्तकमाथी संग्रौला र उक्त पुस्तकका लेखक उज्वल प्रसाईसँग पाठकहरुको बिमर्श कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नयाँ विश्व अनलाइनले आयोजना गरेको कार्यक्रममा संग्रौलाले राजनीति, साहित्य र दैनिकीमा पनि बिद्रोही भएर गरेका अभिव्यक्ति, लेख रचना लगायतमा पाठकले जिज्ञाशा राखेका थिए । सहभागिले संग्रौलाको लेख, व्यङग्य र अभिव्यक्तिबाट राज्यले सिक्न नसकेको बताए ।
आम नागरिकको आबाज उठाउने लेखकका शब्दबाट राज्य उत्तरदायी बन्नुपर्ने, बेथीतीबाट माथी उठ्न सक्नुपर्ने धारणा अधिकांस सहभागिको थियो । संग्रौलाले भने राजनीति गर्जन भएको र साहित्य नरम दबाव भएको बताए । राजनीति, सत्ता र गर्जनले साहित्यको भावना बुझ्न नसक्दा राज्यमा बेथिती आएको धारणा राखे ।
कार्यक्रममा ‘एक बागी’का लेखक उज्वल प्रसाईले एउटा भुईँमान्छेको जीवनी लेख्न पाएकोमा खुसी व्यक्त गरे । ‘जीवनी राजा महाराजा, शासक र सम्राटहरुको लेखिन्छ, मैले त एक आममानिस, भुईँमानिस र साधारण मानिसको जीवनी लेख्न पाए’ प्रसाईले भने, ‘संग्रौलाले नेपालको राजनीतिक परिवर्तनको योगदान, साहित्य तथा नागरिकको आबाज बुलन्द पार्न खेलेको भूमिका यहाँ लेखिएको छ ।’
उक्त अबसरमा पाठकहरुले प्रसाईको लेखनशैलीको प्रशंसा गरेका थिए भने लेखन उत्साहमाथी जिज्ञाशा राखेका थिए । संग्रौलाको बिद्रोही स्वभाव र उनले पाएको प्रेरणाको श्रोतबारे पनि धेरैको जिज्ञाशा थियो । सहभागिको जिज्ञाशामा संग्रौलाले आफ्नै घर परिवार, समाज र परिवेशले बिद्रोही बनाएको बताए । उनले अझै पनि नागरिकको आबाज बोल्ने काममा लेखिरहने प्रतिवद्धता जनाएका थिए । संग्रौलाका सयौं लेखर चनाका साथै अनुवाद गरिएका धेरै पुस्तकसमेत प्रकाशित छन् । नयाँ विश्व अनलाइनका सम्पादक मुकेशराज भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।