बागलुङ, २६ माघ– जिल्लामा कार्यरत प्रहरीलाई आरामदायी विस्तारको लागि ‘एक प्रहरी, एक म्याट्रेस’ वितरण गरिएको छ । जिल्लाका दश स्थानीय तहको सहकार्यमा एक जना प्रहरीलाई एक आरामदायी विस्तारा उपलब्ध गराउने अभियानअन्र्तगत ३ सय ८९ थान म्याट्रेस वितरण गरिएको हो ।
प्रहरी कर्मचारीलाई आरामदायी सुताईमा सहयोग पु¥याउने उद्देश्यले म्याट्रेस वितरण अभियान सुरु गरेको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।
पहिलो चरणमा बागलुङ नगरपालिकाले एक सय, गलकोटले ४५, ढोरपाटनले २५, जैमिनीले ३०, बडिगाड गाउँपालिकाले ३५, काठेखोलाले ३५, तमानखोलाले १८, ताराखोलाले ३०, निसीखोलाले ३६ र बरेङ गाउँपालिकाले ३५ थान म्याट्रेस सहयोग गरेका हुन् ।
स्थानीय तहबाट प्राप्त विस्तारा सम्बन्धित स्थानीय तहको प्रहरी चौकीमा वितरण गरिएको छ । जिल्लामा कार्यरत सबै प्रहरी कर्मचारीलाई म्याटे«स उपलब्ध गराउने अभियान निरन्तर सञ्चालन हुनेछ । उक्त कार्यक्रम सञ्चालनपछि सबै चौकीमा कार्यरत प्रहरीले अब आरामदायी विस्तारामा सुत्न पाउने छन् ।
प्रहरी कार्यालयमा कतै खाट नहुने, खाट भएपनि विस्तारा राम्रो नहुँदा सुरुमा खाटको व्यवस्था गरी विस्तरा दिने योजना बनाएको ज्ञवालीले बताए । म्याट्रेस पाएपछि चिसो मौसममा पनि प्रहरीहरु आरामदायी तरिकाले सुत्न सक्नेछन् ।
‘प्रहरीले आफ्नो सुरक्षा गर्न सके जनताका सुरक्षा गर्ने हो’ बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले भने– ‘नागरिकको जीउज्यानको सुरक्षामा खट्ने प्रहरीको सुरक्षा गर्नु हामी सबैको दायित्व हो ।’