तस्बिर : सज्जन कुमार सिंहको फेसबुकबाट
बागलुङ, २६ माघ– लद्यु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ ।
जुनतारा मिडिया प्रा. लि. बागलुङले बालविवाह, महिला हिंसाविरुद्ध निर्मित चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना फैलाउन थालेको हो ।
जिल्लाको बढी बालविवाह हुने क्षेत्रलाई लक्षित गरी समुदायका व्यक्ति तथा विद्यालयको माथिल्लो कक्षामा अध्ययतरत विद्यार्थी सहभागी बनाएर चलचित्र प्रदर्शन तथा अन्तरक्रिया गर्न थालेको जुनतारा मिडियाका सञ्चालक सज्जन कुमार सिंहले जानकारी दिए ।
बागलुङको तमानखोला गाउँपालिका, बागलुङ नगरपालिकाको वडा नं. ९, ११, १३ र ३, पर्वतको सामाजिक विकास कार्यालय, ६ निजी तथा सामुदायिक विद्यालय र बागलुङका दश सामुदायिक विद्यालयमा चलचित्र प्रदर्शन गरिएको छ ।
कुनै ठाउँमा स्थानीय तह तथा वडा कार्यालयले चलचित्र प्रदर्शनको खर्च व्यवस्थापन गरेका छन् । विद्यालय तहमा विद्यालय प्रशासनले न्युनतम खर्च व्यवस्थापन गरे पश्चात चलचित्र प्रदर्शन गर्दै आएको सञ्चालक सिंहको भनाई छ ।
चलचित्रमा सानो उमेरमा विवाह गर्दा हुने पारिवारिक समस्या, घर सञ्चालन तथा पारिवारिक सम्बन्ध निर्माणका कठिनाई, आफ्नो समस्या व्यक्त गर्न नसक्ने अवस्था तथा प्रजनन अवस्थामा हुने जटिलताको विषय समावेश गरिएको छ ।