काठमाडौं, २६ माघ– साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन । तर, नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीविरुद्ध कडा टक्कर दिने बताएका छन् ।
बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक हुने दाबी गर्छन् । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । लिग चरणमा समेत नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको खेलमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो ।