बागलुङ, २७ माघ– बागलुङबाट रत्नेचौरहुँदै बेनी जोड्ने सडक जीर्ण बनेको छ । बाङेचौरदेखि रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिए पनि वर्षाको बाढी र पहिराले कालोपत्रे बगाउँदा सडक जीर्ण बनेको हो ।
रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्रे उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दै आएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन नसकेको स्थानीय बताउँछन् ।
यस्तै, रत्नेचौरबाट खबरासम्मको चार किलोमिटरमध्ये तीन किलोमिटर सडक २०७६ मा कालोपत्रे गरिएको थियो । वर्ष दिन नपुग्दै कालोपत्रे उप्किँदा बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने गरेको स्थानीय सुरज सापकोटाले गुनासो गरे ।
बर्सेनि मर्मतसम्भार गर्दै आएपनि नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताए । ‘मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ’, खड्काले भने, ‘सडक कालोपत्रे गर्ने बजेट मागेका छौ ।’
रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत छभने बाङ्ेचौरबाट रत्नेचौरसम्म सडक डिभिजनले मर्मत गर्दै आएको छ । रत्नेचौरबाट बेनीको खबरासम्मको ४ किलोमिटर कालोपत्रे गर्ने काम २०७४ देखि थालेपनि अझै सो काम सम्पन्न हुन सकेको छैन ।
१२ करोड १७ लाखको लागतमा कालोपत्रेको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको छ । कुँडुलेबाट रत्नेचौरसम्मको सडक २० लाखको लागतमा ठेक्कामार्फत मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।