म्याग्दी, २८ माघ– जिल्लाको धवलागिरि गाउँपालिका वडा नं. १ गुर्जामा सडक पु¥याइने भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा जिल्लाका छ स्थानीय तहका ४५ मध्ये सडक नपुगेको एक मात्र वडा हो ।
भौगोलिक हिसाबले दुर्गम र विकट क्षेत्रमा पर्ने लुकेको बस्ती ‘हिडन भ्याली’का रुपमा परिचित छ । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा वडा नं. २ मा पर्ने लमसुङदेखि लुलाङहुँदै गुर्जा जोड्ने सडक निर्माण थालिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गण्डकी प्रदेश सरकारको ८० लाख र पालिकाको ४५ लाख बजेटबाट सडक निर्माण सुरु गरिएको जानकारी दिए । ‘गुर्जालाई सडक सञ्जालले जोड्ने हाम्रो पालिकाको गौरवको आयोजना हो’ उनले भने ‘यसवर्ष लमसुङदेखि लुलाङभन्दा माथिसम्म सडक पु¥याउने लक्ष्य छ ।’
मुना–लुलाङ–गुर्जा सडकलाई कर्णाली प्रदेशको डोल्पाको सदरमुकाम दुनै जोड्ने छोटो मार्ग बनाउन प्रदेश र संघीय सरकारलाई प्रस्ताव गरेको उपाध्यक्ष पुनले बताए । गत वर्ष पालिकाले लुलाङदेखि गुर्जा जोड्ने १० किलोमिटर सडकको डिपीआर बनाएको थियो ।
गुर्जाका वडाध्यक्ष झक छन्त्यालले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको डिपिआर तयार पारिए पनि लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको बताए । दुई सय ५० घरधुरीको बसोबास रहेको गुर्जामा सडक सुविधा नहुँदा पैदलयात्रा, ढुवानीमा घोडा खच्चर र बिरामी हुँदा अस्पताल पुग्न हेलिकप्टर चढ्नुपर्ने बाध्यता छ ।