बागलुङ, २ फागुन– बिद्यामन्दिर माबि बागलुङको ८२ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
मंगलबार आयोजित मुल समारोहमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बिद्यामन्दिर र बागलुङको शिक्षा एकआपसका पुरक भएको बताए ।
श्रेष्ठले जिल्लाकै जेठो र नेपालकै अग्रणी बिद्यालयले नेपालको सर्बोच्च अदालतको प्रधानन्यायाधिसदेखि उच्च प्रशासक र राजनीतिज्ञ पनि उत्पादन गरेको भन्दै राज्यलाई पनि यो बिद्यालयले योगदान गरेको चर्चा गरे ।
कार्यक्रममा राजनीतिक दलका अगुवा, समाजसेवी, शिक्षासेवी तथा पूर्व शिक्षकहरुले बिद्यालयको छवि उचो बनाउन शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिन जोड दिएका थिए । पूर्वाधार र बिद्यार्थी संख्याले राम्रो रहेको विद्यालयलाई गुणस्तरमा अब्बल बनाउन सकेमा देशकै नमूना बिद्यालय हुनेमा अधिकांश वक्ताहरुको धारणा थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता, शिक्षक भीमप्रसाद उपाध्यायको संचालनमा सम्पन्न मुल समारोहमा नगर शिक्षा अधिकारी धनप्रसाद सापकोटा, एमाले अध्यक्ष हिराबहादुर केसी, माओवादीका यज्ञबल्लभ शर्मा, पूर्व प्रधानाध्यापक, समाजसेवी, चन्दादाता लगायतले मन्तव्य राखेका थिए ।
वार्षिकोत्सवको अबसरमा पूर्व प्रधानाध्यापकहरु, दिर्घसेवा, बिशिष्ट योगदान दिने व्यक्तित्व र उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । विद्यालयमा खुला बिद्यालयसहित १ हजार ३ सय ५१ जना बिद्यार्थी अध्ययनरत छन् ।
वार्षिकोत्सवको अबसरमा आयोजित विबिध खेलकुद, लोकगीत संगीत, नृत्य प्रतियोगितामा विजयीलाई पुरस्कार वितरण गरिएको थियो । बिद्यालयले कक्षा ११ र १२ तर्फ बिज्ञान, मानविकी, शिक्षा र व्यवस्थापन संकाय संचालन गर्दै आएको छ ।