बागलुङ, ३ फागुन– गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ बिहिबार प्रदेशभर सार्वजनिक विदा हुने भएको छ ।
२०७९ सालमा प्रदेशले दिने सार्वजनिक विदामा प्रदेश सरकार स्थापनाको दिन पनि समावेश गरिएको हो । गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ ।
संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्ने प्रावधान रहेको छ । गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैंमा विदा दिने निर्णय गरेको थियो ।