बागलुङ, ५ फागुन– बागलुङ नगरपालिकाले सरुवा गरेको पत्र लैजाँदा पनि बिद्यालयका प्रधानाध्यापकले चासो नदिएर एक शिक्षक दुई महिनादेखि बेवारिसे बनेका छन् ।
बागलुङ नगरपालिका वडा नंं ३ निबासी दृष्टीबिहिन बिकल थापालाई बिद्यामन्दिर माबिका प्रअ शान्तमणी ढकालले हाजिरी नगराएका हुन् । गत पुस ९ गते सरुवा भएर रामरेखा प्राबिको रमाना लिएर विद्यालय गएका थापा हाजिर हुन नपाएपछि दुई महिनादेखि बिद्यालय आउजाउने गरिरहेका छन् ।
नगर शिक्षा समितिले बिद्यामन्दिर माबिको व्यवस्थापन समिति अध्यक्ष बाबुलाल शाक्य समेत सहमतिमा थापालाई सरुवा गरेको थियो । थापा दृष्टीबिहिन भएकोले हरेक दिन रामरेखा जान समस्या भएपछि बिद्यामन्दिर सरुवा गरिएको थियो । प्रावि तृतिय श्रेणीका थापा विद्यालयमा जाँदा पठनपाठनमा सहज हुने भएपनि प्रधानाध्यापकले अपांगता भएकै कारण चासो नदिएको अपांग सरोकार संघकी अध्यक्ष चिजा थापाले बताइन् ।
२०७५ सालमा नियुक्ती पाएका थापाले चार बर्षसम्म रामरेखा आधारभूत बिद्यालयमा पढाएका थिए । थापाले लामो समयदेखि आँफूलाई अलपत्र पारिएको भन्दै बिहिबार पत्रकार सम्मेलन गरेर न्याय दिलाइ दिन आग्रह गरेका छन् ।
प्रधानाध्यापक ढकाल सहितका केही शिक्षकले व्यवस्थापन समितिको बैठक नबसेको, अपांगलाई शौचालयसमेत अप्ठ्यारो हुने लगायतका कुरा गर्दै पन्छाउने प्रयास गरिरहेको थापाले गुनासो गरे । उनले आफ्नो समस्याबारे नगरशिक्षा अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ र अपांग महासंघमा पनि जानकारी गराएका छन् ।