बागलुङ, ७ फागुन– बागलुङ नगरपालिका–६ स्थित सर्वशिद्धिधाम पञ्चकोटमा आगामी फागुन ९ देखी १५ गतेसम्म संचलन हुने विश्वशान्ति विराट महायज्ञको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले ३ बर्षदेखी रोकिएको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विराट महायज्ञको तयारी तिव्र पारिएको हो ।
अनन्तश्री बिभुषित मुक्तिनाथ पिठाधीस्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा २०७१ सालदेखी रोकिएको महायज्ञ पुनः संचालनका लागि तयारी तिव्र पारिएको पञ्चकोट परिषदका महासचिव माधव प्रसाद उपाध्यायले जानकारी दिए ।
महायज्ञको पहिलो दिन फागुन ९ गते विश्वशान्तिका लागि सामूहिक शोभायात्रा र साँझ दिपप्रज्वलन, प्रत्येक दिन बिहान ६ बजे महायज्ञस्थलमा पुजन प्रारम्भ, दिउँसो १२ बजेदेखी १ बजेसम्म हरिनाम संकृतन र साढे १ बजेदेखी बिशेषकथा प्रवचन हुने महायज्ञ सम्पादन समितिका अध्यक्ष केशव बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, साँझ ६ बजेबाट विष्णुसहस्रनाम पाठ हुने भएको छ । पञ्चकोटमा हाल १ सय ३५ फिट अग्लो विश्वशान्ति गण्डकी कलश तथा ५ हजार ५ सय ५५ किलोग्रामको मुक्तिनाथ महाघण्ट निर्माण गरिएको छ । यसबाहेक पञ्चमहालक्ष्मी मन्दिर गौशाला हनुमानको शालिक लगायत बिभिन्न धार्मिक संरचना निर्माण भईरहेको पञ्चकोट परिषदले जनाएको छ ।