बागलुङ, १२ फागुन– बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाले आगामी बैशाखभित्र बजारमा शुद्ध खानेपानी पु¥याउने भएको छ । परियोजना रहेको काठेखोलाबाट पानी प्रशोधन केन्द्र कैलामपोखरीमा पुगेसँगै बैशाखभित्र बजारमा खानेपानी आउने आशा पलाएको हो ।
‘आयोजनाको ९० प्रतिशत काम सकिएको छ, केही प्राबिधिक र संरचना निर्माणका काम सुचारु छन्’ निर्माण कम्पनी कन्काई जयमाता जेभीका इञ्जिनियर बिक्रम अधिकारीले भने ‘अबरोध नभए एक महिनाभित्रै वितरण ट्याङ्कीमा पानी पु¥याउने लक्ष्य छ ।’
प्रशोधन ट्याङ्कीमा पानी पुगेकाले धेरै काम बाँकी नरहेको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । दुई बर्षमा सक्नेगरी २०७५ सालमा निर्माण सुरु भएको आयोजना झण्डै पाँच बर्षमा सम्पन्न हुने चरणमा छ ।
अबको दुई सातामा बितरण ट्याङ्कीमा पानी खसाल्ने र आयोजनाको पानी सुचारु हुँदा सुख्खा याममा खानेपानीको अभाव नहुने शर्माको भनाई छ । आयोजनाले काठेखोलाको पानी लिफ्टीङमार्फत रातमाटामा तानेर शुद्धिकरण गरी वितरण गर्नेगरी काम भैरहेको छ ।
इन्जिनियर अधिकारीका अनुसार, पानी लिफ्टिङका लागि मोटर चलाउन ६३० केभिएको ट्रान्सफरर्मर जडान, पानी जम्मा गर्न काठेखोलामा पाँच व्यवस्थित इनार, पानी प्रशोधनका लागि ९ र बितरणका लागि २ ट्याङ्कीलगायतका संरचना तयार भइसकेका छन् ।
३२ करोड २५ लाखको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । डिभिजन खानेपानी, बागलुङ नगरपालिका र नगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो ।