बागलुङ, १७ फागुन– रुकुम पूर्वका नगर प्रमुख महेन्द्र केसी सहितका जनप्रतिनिधि र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ सहितका जनप्रतिनिधिबीच मंगलबार दुइ पालिकाको अनुभव आदानप्रदान र अन्तरक्रिया सम्पन्न भएको छ ।
अध्ययन अबलोकन भ्रमणका क्रममा आएको मुसिकोटको टोलीले बागलुङ नगरपालिकामा आएर फोहोरमैला व्यवस्थापन, कर राजश्व संकलन तथा योजना निर्माण, सम्झौता र फरफारकको बिषयमा छलफल गरेको हो । फोहोर व्यवस्थापन चुनौती भएको भन्दै केसीले बागलुङ सहितका अन्य नगरपालिकाको अनुभव पनि संगाग्ले लक्ष राखेको बताए ।
बागलुङ नगरपालिकाले मंसिर मसान्तमै अधिकांस योजना सम्झौता गरेर तीमध्ये पनि ५० प्रतिशत बढी फरफारक गरिसकेको छ । सोही अभियान पच्छ्याएको मुसिकोटले पनि ७५ प्रतिशत योजना सम्झौता सकेर त्यसको ५० प्रतिशत बढी फरफारक पनि गरेको केसीले जानकारी गराए । कर संकलन र व्यवस्थापन तथा फोहोर व्यवस्थापन भने चुनौतीपूर्ण हुँदा अध्ययन अबलोकन भ्रमणमा निस्केको उनले बताए ।
कार्यक्रममा उपप्रमुख राजु खड्का र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भ्रमण टोलीको स्वागत गर्दै नगरको पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलबारे पनि जानकारी गराएका थिए । कार्यक्रममा दुवै नगर प्रमुखले मायाको चिनो साटासाट गरे । मुसिकोटका प्रमुख केसीले बागलुङ नगरपालिकालाई भ्रमणको निम्तो समेत दिएका थिए ।