बागलुङ, १९ फागुन– निर्वाचन आयोगले मतदाता नामावली संकलनलाई प्रविधिमैत्री र सेवाग्राहीको सुविधाका लागि अनलाइनमार्फत नामावली संकलन गर्न थालेको छ ।
विगतमा निर्वाचन कार्यालय र नागरिकता जारी हुने प्रशासनमा मतदाता नामावली संकलन गर्ने सुविधाले अधिकांश मतदाता नामावलीमा नाम लेखाउन सहभागी हुन्थे । तर, अनलाइनमार्फत नामावली संकलन गर्दा नयाँ नागरिकता बनाउने नामावली दर्ता गर्न छुटेका छन् ।
इन्टरनेट उपलब्ध हुने जुन ठाउँबाट पनि अनलाइन फाराम भर्ने सुविधा भएपनि र बायोमेट्रिकका लागि जिल्ला निर्वाचन कार्यालय जानुपर्ने झन्झटले कतिपयले नाम लेखाउन छाडेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताए ।
यसअघि निर्वाचन कार्यालय, जिल्ला र इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट मतदाता नामावली संकलन हुँदै आएको थियो । विगतमा अनलाइन प्रणाली नहुँदा दैनिक डेढ सय नामावली संकलन भएपनि अहिले घटेर दैनिक चार÷पाँच जनामा सिमित भएको छ ।
गत साउन १९ गतेदेखि स्थगित मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य नियमित भएको छ । ‘दुर्गमका नागरिक नामावलीको फोटो खिच्नको लागि मात्रै सदरमुकाम आउँदैनन्’ नेकपा (माओवादी) केन्द्रका जिल्ला इन्चार्ज राजीव घिमिरेले भने, ‘आयोगले पुरानो शैलीबाट नामावली संकलन अघि बढाउनु अनिवार्य छ ।’
मतदाता नामावलीमा नाम लेखाउने प्रयोजनका लागि कुनैपनि नागरिकले १०÷१५ हजार खर्च नगर्ने नेताहरुको बुझाई छ । निर्वाचनको समय नभएको र विपन्न नागरिक स्वयंले खर्च गर्न नसक्ने हुँदा विगतको सेवालाई पनि निरन्तरता दिन नेताहरुको सुझाव छ ।