काठमाडौं, २६ फागुन– नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबारबाट तेस्रो चरणको खेलहरु सुरु हुँदैछन् ।
लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछ । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
नवप्रवेशी क्लब खुमलटार दोस्रो जितको खोजीमा रहेको छ । खुमलटार २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ । थ्री स्टार पहिलो जितको खोजीमा हुनेछ । थ्री स्टार २ खेलमा १ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
यस्तै दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । हिमालयन आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । हिमालयन २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा छ ।
नवप्रवेशी क्लब चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा रहेको छ । दुई खेलमा अपराजित चर्च ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयनलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थान कायम राख्न चाहन्छ ।