मुस्ताङ, ३० फागुन– मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जोमसोम जोड्ने सडक कालोपत्रे सुरु भएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर ५ सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रेको काम सुरु भएको हो ।
आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्रे गर्न थालेको जानकारी दिए । सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्रे हुन लागेको प्रजापतिले बताए ।
यो सडक कालोपत्रे गर्न २०७३ असारमा पप्पु–गौरी–पार्वती–कोसी एण्ड न्यौपाने जेभीले ९९ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको थियो । साझेदारमध्ये पप्पु र कोसी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले जनाएको छ ।
सडक निर्माणको काम अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो । कालोसूचीबाट जोगिनका लागि गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ ।
गौरी पार्वतीले ठेक्का लिएको चराङ–छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए । ग्राभेलका लागि ५८ करोड २६ लाखमा ठेक्का सम्झौता भएको यो खण्डको ९० प्रतिशत निर्माण सकिएको छ ।