पर्वत, १ चैत्र– झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित बनेका छन् । लामो समयको खडेरीले हिउँदे बाली सुख्खा भएर निराश भएका कृषक वर्षा भएपछि हर्षित बनेका हुन् । खेतबारीमा लगाइएको गहुँ, तोरी, आलु, फापर, जौलगायत तरकारीहरुको उत्पादन न्यून हुँदा निराश बनेका कृषकहरु बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका हुन् ।
वर्षा भएपछि कृषकहरुलाई खेतबारी खनजोत गर्न र बर्खे बाली लगाउन सहज भएको छ । वर्षा नहुँदा चैतेधान र मकैबाली लगाउन ढिलाइ भएको थियो । फागुन पहिलो साता रोप्नुपर्ने मकै अहिलेसम्म रोप्न नसकिएको ठूलीपोखरीका कृषक राधा सापकोटाले बताए ।
हरेक वर्षको एक पटक हिउँ पर्ने पर्वतको बनौ, लेखफाँट, शालिजा, पन्चासे क्षेत्रमा यसपटक भने हिउँ नपरेको जलजला गाउँपालिका वडा नंं ९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले बताए । हिउँ नपरेपनि वर्षाले बाली लगाउन सहज भएको उनको भनाई थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारी बालीमा समेत असर परेको छ ।