बागलुङ, ४ चैत्र– प्रहरी कार्यालय र बिपत व्यवस्थापन गुल्म बागलुङको संयुक्त आयोजनामा आगलागी नियन्त्रण तथा सचेतना कार्यक्रम गरिएको छ ।
शुक्रबार चिप्लेटी बसपार्कमा आयोजित कार्यक्रममा घरभित्र हुने दुर्घटनाबाट क्षति न्युनिकरण गर्ने बिषयमा सचेतना गराईएको हो । भान्छामा राखिएको एलपी ग्याँस लिग भएको अबस्थामा, आगलागी भएको अबस्था वा अन्य समस्यामा तत्काल आगलागी नियन्त्रण गर्ने उपायबारे जानकारी दिइएको हो ।
प्रहरीले बेला बेला बिभिन्न घटनाको अभ्यास गराउने गरेको छ । ती अभ्यासले दुर्घटना न्युनिकरण र घटनाबाट बच्ने उपायाबारे सिकाउने गरिएको छ ।
ग्यास लिग भएर आगो लागेमा निभाउने तरिकाबारे प्रहरीले घटना अभ्यास जस्तै गरेर आम नागरिक, सवारी चालक र यातायात क्षेत्रका अन्य सरोकारवालालाई जानकारी गराइएको हो । आगो लागेपछि भाग्ने, डराउनेभन्दा सचेतनापूर्वक नियन्त्रण गरेमा क्षति हुनबाट बचाउन सकिने बिपत व्यवस्थापनका सरोकारवालाले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बिपत बाजा बजाएर नआउने भएकोले मानवीय होसियारीले क्षति न्युनिकरण गर्न सकिने बताइन् । प्रहरीले सिकाएको घटना अभ्यासहरु आम नागरिकका लागि उपयोगी भएको भन्दै अन्य क्षेत्रमा पनि सचेतना जगाउनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का, यातायात व्यवसायी उमेश केसी, सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य, सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसी लगायतले बोलेका थिए ।
प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्काको अध्यक्षता, प्रहरी नायव उपरिक्षक मदन केसीको स्वागत र प्रहरी निरिक्षक राजाराम खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।