बागलुङ, ४ चैत्र– बागलुङ नगरपालिकाको अगुवाईमा सरोकारवालाको बैठकले सरकारले दिने अनुदानको कृषि रासायनिक मलको बितरणलाई सहज बनाउने र नयाँ मूल्य सूचि कायम गराउने निर्णय गरेको छ । शुक्रबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षतामा बसेको स्थानीय समितिले मूल्य समायोजन गराएर सहज ढंगले किसानलाई मल बितरणमा सहजीकरण गर्ने निर्णय गरेको हो ।
गत फागुन २९ गतेदेखि लागू हुने गरी सरकारले दिंदै आएको अनुदान घटाएपछि बजारमा रासायनिक मलको मूल्य बढ्ने भएको छ । सो मूल्य कायम गर्न सरोकारवालाको बैठक बसेको थियो । बगलुङ नगरपालिकाको अगुवाईमा सरकारको आधिकारिक बिक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि ज्ञान केन्द्र, खुद्रा बिक्रेता तथा किसान सहकारीका प्रतिनिधिले बढ्ने मूल्यसूचि कायम गराउन निर्देशन दिएका छन् ।
अब बजारमा बढेर आएको रासायनिक मलको बिक्री मूल्य युरियामा ११ रुपैयाँ, डिएपीमा ७ र पोटासमा ९ रुपैयाँ बढ्ने छ । बढेको मूल्य अनुसार किसानले युरिया प्रतिकेजी ३४ रुपैयाँ, डिएपी प्रतिकेजी ५९ रुपैयाँ र पोटास प्रतिकेजी ४९ रुपैयाँमा पाउनेछन् । धौलागिरी क्षेत्रमा पोटास भने लामो समयदेखि नआएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख मनोज श्रेष्ठले बताए ।
सरकारले यसअघि रासायनिक मलमा ७० प्रतिशत अनुदान दिएको थियो । यो अनुदान ११ प्रतिशत घटाएको हो । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका लागि साल्ट ट्रेडिङ र कृषि सामाग्री संस्थानले मल बिक्री गर्दै आएका छन् । श्रेष्ठका अनुसार वार्षिक १ लाख क्विन्टल भन्दाबढी मल बिक्री भैरहेको छ । सरकारले कोटा प्रणालीमा गण्डकी प्रदेशमा रासायनिक मल कम पठाउने गरेको छ । देशभर बेचिने मलको साँढे ३ प्रतिशत मात्रै रासायनिक मल गण्डकी प्रदेशमा बेचिने गरेको हो ।
नयाँ सूचि कायम गर्ने बैठकले साल्ट ट्रेडिङमा रहेको मल बढेको मूल्यमा बेच्ने र बिक्रेताले लगेको स्टक सामान भने पुरानै मूल्यमा बेच्नुपर्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । बिक्रेताको भण्डारमा गैसकेको मल नाफासहित बेच्ने पुरानै मूल्य कामय भएकोले स्टक सकेपछि नयाँ सूचिमा बेच्नुपर्ने निर्णय भएको उनले बताए । बढी मूल्यमा बेचिएमा अनुगमन गरेर कारवाही समेत गर्न सकिने उनले जानकारी दिए ।