बागलुङ, ४ चैत्र– कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङको आयोजनामा चैत १३ गतेदेखि १७ गतेसम्म हुने चैतेदशै मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।
बैठकले बागलुङमा प्रत्येक बर्ष हुने ऐतिहासिक चैते दशै मेला सम्पन्न गर्न गुठीका अध्यक्ष कुमार खड्काको मुल संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको हो ।
मेलाको प्रचारप्रसार उपसमिति संयोजकमा प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी, छेलो उपसमितिमा पारस खड्का, दोहोरीगित तथा कलाकार उपसमिति संयोजकमा भरत खड्का, भलिबल उपसमिति संयोजकमा अर्जुन खड्का, मञ्च तथा स्टल ब्यवस्थापन उपसमिति संयोजकमा ध्रुव खड्का, अनुगमन संयोजक राम शर्मा रहेका छन् ।
त्यसैगरी, अतिथि सत्कार उपसमिति संयोजकमा बिद्या खड्का, रमाइलो मेला उपसमिति संयोजकमा लोकबहादुर खड्का, रथयात्रा ब्यवस्थापन उपसमितिमा मुकुन्द शाक्य र आर्थिक संयोजकमा रामबहादुर खड्का रहेको कालीका गुठी ब्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।
५ दिनसम्म संचालन हुने चैत्राष्टमी मेला भब्य रूपमा सफल पार्न बागलुङको ४ नगरपालिका, ६ गाउँपालिका, बागलुङ उद्योग बाणिज्य संघ, बन उपभोक्ता समितिलगायत क्रियाशील संघसंस्थालाई सहआयोजकमा राखिएको गुठीले जनाएको छ ।