काठमाडौं, ५ चैत्र– करिब १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
निर्वाचनका लागि त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी संगठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो ।
पटक पटक घोषणा भएपनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी संगठनसम्म उत्साही भएका छन् ।
उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी संगठन निर्वाचनका लागि झनै उत्साही भएका छन् । देशभरिका त्रिविका ६२ आंगिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकै दिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ । कतिपय क्याम्पसमा भने विद्यार्थी संगठनकै कारण स्ववियू चुनाव स्थगित भएका छन् ।
विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ ।
स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो ।
धौलागिरि बहुमुखी क्याम्पसमा चैत १८ भित्र स्ववियू निर्वाचन हुने
धौलागिरि बहुमुखी क्याम्पसले निर्धारित मितिमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्न नसकेपछि चैत १८ गते सम्ममा गर्ने तयारी भएको छ ।
चैत ५ को निर्वाचनको जिम्मा लिएका निर्वाचन समितिका संयोजक भक्तीराम न्यौपानेले राजिनामा दिएपछि निर्वाचन अन्यौल बनेको थियो । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले १८ गतेभित्र उचित दिन मिलाएर निर्वाचन गर्न कार्यतालिका समेत बनाइरहेको बताए ।