म्याग्दी, ७ चैत्र– असिनापानीले हिउँदेबाली नष्ट गरेपछि म्याग्दीका किसान चिन्तित बनेका छन् । बेनी नगरपालिका वडा नं. ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पु¥याएको किसानले बताएका छन् ।
हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भकिम्लीका किसान भीमबहादुर थापाले बताए । शनिबार हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको थापाको भनाई छ ।
खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवा लगायतका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिराँैला लगायतका तरकारी र बालीमा समेत असिनाले क्षति पुगेको चिनाखेतका किसान श्याम पुनले बताए ।
असिनाले गरेको क्षतिबारे विवरण संकलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । वर्षा नहुँदा गहुँ, आलु, जौँ, फापर खेती राम्रोसँग फस्टाउन नपाएपनि असिनाले नष्ट गरिदिँदा किसान मारको परेको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए ।
म्याग्दीमा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ । वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसान खुसी भएका छन् ।
‘फागुन पहिलो साता रोप्नुपर्ने मकै अहिलेसम्म रोप्न सकिएको थिएन, पानीपरेसँगै मकै छर्ने चटारो छ’ ज्यामरुककोटका किसान नारायण सापकोटाले भने । बारीमा मकै लगाउन, तरकारी र बर्खे आलु लगाउन भने सहज भएको सापकोटाले बताए ।