फाइल तस्बिर
बागलुङ, १२ चैत्र– नमुना शहरको रुपमा विकास भईरहेको पश्चिम बागलुङको व्यापारिक क्षेत्र बुर्तिवाङ बजार नजिकै खप्तरीबाङमा व्यवस्थित बसपार्क बन्ने भएको छ ।
बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका वडा नं. १ खप्तरीबाङमा जग्गा खरिद गरी बसपार्क निर्माण थालेको हो ।
आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाइ गर्दा व्यवस्थित बसपार्क निर्माण हुन सकेको थिएन । २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्नेगरी गोरखनाथ कन्स्ट्रक्सन एण्ड मरचेन्टाइजर प्रालिसंग आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गको छेउमै रहेको भुजीखोला किनारमा तटबन्धन गरी बसपार्क निर्माण थालिएको अधिकारीले बताए । २०७५ सालमा ६ रोपनी जग्गा खरिद गरेको र विभिन्न प्रक्रिया पूरा गरेर बसपार्क बनाउन थालिएको हो । तीनतले टर्मिनलसहितको बसपार्कमा २० बस, ३० जीप र साना सवारीसाधन पार्किङ गर्न सकिने छ ।
बसपार्क निर्माणको कुल लागत २ करोड २६ लाख ४० हजार ४ सय ३१ रुपैयाँ रहेको छ । बसपार्क निर्माण भएपछि बुर्तिबाङ बजारको सौन्दर्यमा थप टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् । खप्तरीबाङमा बसपार्क बनेपछि साँघुरो बुर्तिवाङ बजारलाई व्यवस्थित गर्न सहज हुने वडाध्यक्ष बानबहादुर छन्त्यालले बताए ।