म्याग्दी, २४ चैत्र– कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगादेखि मुस्ताङको लोमान्थाङ सम्मको आठ ठाउँमा स्तरोन्नतिको काम अपेक्षाकृत हुन सकेको छैन ।
कालीगण्डकी करिडोर आयोजना मालढुंगा–जोमसोम प्रमुख जगत प्रजापतिका अनुसार आवश्यक पर्ने कच्चापदार्थको अभावले सडकको काम तीव्र रुपमा हुन नसकेको हो ।
‘सडक स्तरोन्नतिका लागि ठाउँ ठाउँमा राखिएका निर्माण सामग्री, भत्काइएको सडक मर्मतमा ढिलाई गर्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेछ’ रसियन पर्यटकलाई मुस्ताङ घुमाएर बेनी फर्किनुभएका पर्यटक पथप्रदर्शक डग्नुम लामाले भनिन् ।
दैनिक सयौँ आन्तरिक तथा विदेशी पर्यटकको आवतजावत हुने सडकको अवस्था अत्यन्तै दयनीय रहेको चौध जना साथीसँग मुस्ताङ घुमेर फर्कएका नवलपुरको गैँडाकोट नगरपालिका हर्कपुरका प्रकाश ज्ञवालीले बताए ।
लामा र ज्ञवालीले भनेजस्तै मुस्ताङ जाने सडकको अवस्था अत्यन्त दयनीय नै रहेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘सरकार र निर्माण कम्पनीबीच समन्वय नहुँदा मुस्ताङ घुम्न आउने पर्यटकले सास्ती खेपेको शेरचनको भनाई छ ।
निर्माण कम्पनीकाका अनुसार सडक निर्माणका लागि आवश्यक कच्चापदार्थ कालीगण्डकी नदीबाट निकाल्न नपाउँदा काममा असर परेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न भनेको छ ।
सरकारले जारी गरेको आइइइ रिपोर्टमा उल्लेख भएका आधारमा राष्ट्रिय गौरवको आयोजना भएकाले कालीगण्डकी नदीबाट नै आवश्यक कच्चापदार्थ झिक्न पाउने र सोही मूल्यांकनका आधारमा ठेक्का सम्झौता भएको निर्माण कम्पनीले बताउँदै आएका छन् ।