बागलुङ, ३ चैत्र– काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधेमा संसारका १ सय ८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्वनमा सहयोग पु¥याउने उद्देश्यले विश्व सांस्कृतिक अभियान समूहको अगुवाइमा झण्डा स्थापना गरिएको हो । झण्डा स्थापना गरिएको क्षेत्रबाट धौलागिरि, माछापुच्छ्रे, मानापाथी हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।
घोडाबाँधे क्षेत्रलाई ‘विश्व सांस्कृतिक गाउँ’को रूपमा विकास गर्ने लक्ष्यका साथ पर्यटकीय गतिविधि, कार्यक्रम तथा भौतिक संरचना निर्माण गर्न थालिएको पर्यटन विकास अभियन्ता कृष्णबहादुर केसीले जानकारी दिए ।
‘घोडाबाँधेमा विश्वको नक्सा जस्तै घरसमेत बनाउने योजनामा छौँ’ केसीले भने– ‘घोडाबाँधेमा पुग्ने पर्यटकले विश्व भ्रमण गरेको अनुभव गर्ने गन्तव्य बनाउँछौँ ।’
काठेखोला तथा जैमिनीको सीमा क्षेत्रमा पर्यटकीय क्षेत्र गाजादहदेखि धम्जास्थित पर्यटकीय क्षेत्र बेलढुंगा जोड्ने गरी पर्यटकीय पदमार्ग पहिचान गरिएको छ ।
गाजादहदेखि बेलढुंगाको बीचमा घोडाबाँधे क्षेत्र पर्छ । सबै देशको झण्डा स्थापनाले स्वदेशी तथा विदेशी पर्यटक घोडाबाँधेमा पुग्ने अपेक्षा गरिएको छ । घोडाबाँधे बागलुङ बजारदेखि मध्यपहाडी लोकमार्गको २५ किलोमिटर दुरी रहेको छ ।
बागलुङको एकीकृत विकासका लागि वैशाख २२ गते ढोरपाटनमा विकास सम्मेलन आयोजना गरिएको छ । काठेखोलामा भएका पर्यटकीय क्षेत्रको पहिचान र विकासमा गाउँपालिकाले आवश्यक नीति, कार्यक्रम र बजेट विनियोजन गर्दै आएको छ ।