पर्वत, १० बैशाख– दोविल्ला–फलेवास सडकको कालोपत्रेको काम सम्पन्न भएको छ । कूल १६ किमी लामो यो सडकको घोइनौला–चन्दनी खण्डमा बुधबार कालोपत्रे सकिएको हो ।
चन्दनीदेखि ढिकसम्मको कालोपत्रे गत वर्षनै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा कालोपत्रे सकिएसँगै दोविल्ला–फलेवास सडक कालोपत्रेको काम सकिएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
२०५७ मा नै ट्रयाक खुला भइसकेको यो सडकको दुई २३ वर्षपछि कालोपत्रे भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक अन्तर्गत दुई वर्षमा काम सक्ने गरी २६ करोड ५१ लाखमा प्यासिफिक÷फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो ।
८ मिटर चौडा सडकमध्ये ५.५ मिटर सडक कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानाकारी दिए । सडक कालोपत्रेको काम २०७६ कात्तिक ११ गते तत्कालीन मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए ।
दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाको संक्रमणका कारण एक वर्ष समय ढिलाइ भएको प्यासिफिक÷फेवा जेभीका प्रतिनिधि राजु पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार सबै काम सकेर उपकरणसमेत हटाइएको छ । सडकखण्डअन्तर्गत केही भागमा ढलान गरिसकिएको छ ।
यो सडक कालोपत्रे भएपछि पर्वतको फलेवास नगरपालिकाका देवीस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादी तथा दक्षिण बागलुङका नागरिकलाई सदरमुकाम कुश्मा आउजाउ गर्न सहज भएको छ ।