बागलुङ नगरपालिका–४ मा रहेको शालीग्राम संग्राहलय र रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा शालग्राम महोत्सव शुरु भएको छ ।
सोमबार मालढुंगास्थित कालीगण्डकी नदीबाट जलयात्रासहित महोत्सव शुरु भएको हो । जलयात्रापछि भजनसहित ६ फिट अग्लो कलस यात्राले बजार परिक्रमापछि कुंडुलेमा पुगेर महोत्सव उद्घाटन गरिएको हो ।
बैसाख १५ गतेसम्म आयोजना हुने महोत्सवको औपचारिक कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले नेपालको पर्यटनमध्ये धार्मिक क्षेत्र बढी रहेको बताए । ‘नेपाली र भारतीय पर्यटक तान्ने धार्मिक क्षेत्रको विकास र महत्व बताउन सके देशले आर्थिक रुपमा फड्को मार्न सक्छ’ थापाले भने ।
यसअघि जलयात्राको उद्घाटन गर्दै प्रदेश सभा सदस्य चम्पा खड्काले नेपाल धार्मिक पर्यटनको गन्तव्य बनाउन सकेमा समृद्धिमा लैजान सकिने भन्दै बागलुङ र धौलागिरि क्षेत्रकै पहिचान बोकेको कालीगण्डकीको संरक्षण गर्नुपर्ने बताइन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शालीग्राम घर घरमा पुजिने भएपनि नदीबाटै लोप हुन लागेकोले नदीसमेत बचाउन व्यवस्थित उत्खनन् र शालीग्रामको संरक्षण गर्दै यसको महत्वबारे जानकारी दिनुपर्ने धारणा राखे ।
शालीग्राम संग्राहलय तथा महोत्सव आयोजक समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यले नदी र शालीग्रामको रोदन अब हरेक नागरिकले महसुस गर्नुपर्ने धारणा राख्दै यो अभियानमा सबैलाई जोडिन आग्रह गरेका छन् ।
विश्वमै शालीग्राम पाइने एकमात्र नदी भएकोले कालीगण्डकी बचाउनु पर्ने अभियान र माग बढीरहेकै बेला महोत्सव गरिएको हो । नदी दोहनका कारण कुरुप बनेको कालीगण्डकीको रोदनलाई लोकगीत, भजन र काब्य मार्फत उजागर गर्ने र संरक्षणकालागि आबाज उठाउन महोत्सवमा क्रियाकलाप जोडिएको छ ।
शालीग्राम संरक्षणमा आम नागरिकलाई प्रेरित गर्ने, शालीग्रामको महिमाबारे प्रचारप्रसार गर्ने र वातावरण संरक्षणमा चासो बढाउने लक्ष्य महोत्सवले दिने आयोजक समितिका उपाध्यक्ष हरिप्रसाद शर्माले बताए ।