बागलुङ, २० बैशाख– बागलुङ जेसीजले आयोजना गरेको प्रथम अर्ना जेसीज कप फुटवल प्रतियोगितामा कालिपुल युनाइटेड बेनी र श्रीमेयर गण बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार बिहान भएको पहिलो खेलमा बागलुङ सुधार केन्द्रलाई ०–२ गोलले पराजित गर्दै कालीपुल युनाइटेड बेनी सेमिफाइनलमा प्रवेश गरेको हो । कालीपुलको जितका लागि बिनम थजाली र बिश्वास थापाले १÷१ गोल गरे ।
यस्तै, दिउँसो भएको दोस्रो खेलमा भिमापोखरा खेलकुद विकास समितिलाई २–३ गोल गर्दै श्रीमेयर गण बागलुङ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा २÷२ गोल भएपछि थप गरिएको २० मिनेटमा गणले १ गोल थप गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
गणको जितमा भत्तेमान घले, प्रकाश निरौला र विकास मगरले १÷१ गोल गरे भने भिमापोखरा खेलकुद विकासका लागि मनिष थापा र सुनिल बुढा थापाले १÷१ गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल नवउत्साही क्लव पर्वतबिरुद्ध चिल्डे«न लाइफ स्पोर्ट क्लब र दोस्रो खेल गुठी युथ क्लवविरुद्ध बिर गोरखालीबीच हुने प्रतियोगिताका संयोजक सौरभ खत्रीले जानकारी दिए ।