बागलुङ, २० बैशाख– जिल्लाको बडिगाड गाउँपालीका–३ की होटल व्यवसायी गंगा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका–७ असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटि बस्ने थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० ढुङ्गेअड्डा बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका–७ हुर्का बेइजिङ बस्ने शिवबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला अदालत गुल्मीले पूर्पक्षका लागि कारागार चलान गरेपछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
गत माघ १५ गते गुल्मी मुसिकोट नगरपालिका–७ न्वारमा गंगादेवी शेरचनको हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको तथ्यहरुको आधारमा अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गल्मीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए । हत्यामा संलग्न एक जना भने अझै फरार छन् ।