बागलुङ, २२ बैशाख– पाखाथरमा निर्माण गरिएको कबर्डहलमा ‘बि’ डिभिजन व्याटमिन्टन खेल सञ्चालन हुने भएको छ । स्वाभिमानी पाखाथर युवा क्लबले आउँदो बैशाख २९ र ३० गते व्याटमिन्टन खेल सञ्चालन गर्न लागेको हो ।
स्थानीयले बिभिन्न दाताको सहयोग, प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोग तथा श्रमदानमा बागलुङ नगरपालिका वडा नं. ४ को पाखाथरमा आधुनिक कबर्डहल निर्माण गरेका थिए । सोही हलको उद्घाटनसँगै साविक धौलागिरी अञ्चल स्तरीय खेल सञ्चालन गर्न लागिएको हो ।
कबर्डहलको प्रचारप्रसार र व्याटमिन्टन खेलको प्रबर्धनका लागि प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष शिव आचार्य (मदन)ले बताए । खेल सञ्चालनका लागि क्लवले सबै तयारी पुरा भएको जनाएको छ । प्रतियोगितामा ‘बि’ डिभिजनका २० भन्दा धेरै समुह सहभागि हुने आचार्यले बताए । डबल व्याटमिन्टनका लागि क्लवले सम्बन्धित सबै क्लव र संघसंस्थालाई पत्राचार गरिसकेको जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेले २५ र दोस्रो हुनेले १५ हजार रुपैयाँ नगद पाउने छन् । प्रतियोगिताका लागि आवश्यक सामग्री र हलमा अपुग संरचना निर्माणका लागि वडा कार्यालयले सहयोग गरेको छ । चालु आर्थिक बर्षमा युवा तथा खेलकुद शिर्षकमा बिनियोजन भएको २ लाख ५० हजार रुपैयाँ प्रतियोगितामा खर्च हुने वडाध्यक्ष कुमार बिक्रम क्षेत्रीले जानकारी दिए ।
सदरमुकाममा रहेका कबर्डहलमा व्याटमिन्टन खेल खेल्नेको चापलाई मध्यनजर गरेर पाखाथरमा कबर्डहल निर्माण गरिएको थियो । मार्सल आर्ट, टेबलटेनिस, व्याटमिन्टन लगायतका खेलका लागि यो भवन निर्माण गरिएको हो । बागलुङ नगरपालिकाकोे १३ लाख, गण्डकी प्रदेश सरकारको १७ लाख, उपभोक्ताको ७ लाख ५० हजारसमेत गरी कबर्डहलको पूर्वाधार निर्माण गरिएको हो । ८ आना जग्गामा निर्माणाधिन कबर्डहल सम्पन्न भएमा स्थानीयले खेल खेल्ने अबसर पाउने क्षेत्रीले बताए ।
हलका लागि कम्तिमा ५० लाख खर्च लाग्ने अनुमान थियो । ४५ लाखको लागतमा आधुनिक हल तयार भएको छ । हाल ८५ फीट लम्बाइ र ३२ फीट चौडाइको हल तयार भएको छ । हलको भित्री खण्डको डेकोरेसन, शौचालय, ड्रेसिङ रुमको व्यवस्थापन लगायतका काम भएका छन् । हल निर्माणका क्रममा खर्च भएकोमध्ये तीन लाख रुपैयाँ ऋण रहेको क्लवका अध्यक्ष आचार्यले बताए ।