बागलुङ, २७ बैशाख– ताराखोला र वडिगाड गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेका छन् । गाउँपालिकाहरुले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेका हुन् ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि दंग छन् । यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो ।
गाउँबाटै श्रम स्वीकृति पाउँदा वैदेशीक रोजगारीमा जाने युवाहरु उत्साहित भएको वडिगाडका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । बैशाखको पहिलो सातादेखिनै सेवा सुरु गरेको गाउँपालिकामा मंगलबार पहिलो पटक जापान जाने युवाले पुनः श्रम स्वीकृति लिएका छन् । वडिगाडा–५ का टेकबहादुर जिसीले जापानमा रोजगारीका लागि जान पुनः श्रम स्वीकृति लिएका हुन् ।
श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुआत भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था गरिएको थियो । श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपीसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए ।
‘श्रम स्वीकृति लिँदा तिर्नुपर्ने शुल्क बुझाउन बैंकिङ प्रणालीमा केही समस्या छ, अरु सबै काम अनलाइनबाट हुने भएकाले सहज हिसाबले काम भैरहेको छ’ गैरेले भने । वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनको भनाई थियो ।