बागलुङ, २७ बैशाख– बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले एक बर्ष सम्मको मेहेनतबाट नगरपालिकाको दिगो बिकासका योजना निर्माणमा खर्च गरेको बताएका छन् ।
उनले संघिय सरकारदेखि प्रदेश र आफ्नो क्षमताले पूर्वाधार निर्माणदेखि योजना कार्यान्वयनका लागि पद्दती बसाल्ने काममा खर्चेको बताए । उनले कतिपय पूर्वाधारको काम थाल्ने तयारीमा रहेकोले स्पष्ट नदेखिएको पनि बताए ।
मंगलबार पत्रकार सम्मेलन गरेर श्रेष्ठले पालिकाले कतिपय काम चाहेर पनि गर्न नसकेको भन्दै कमजोरी स्वीकारे । उनले बसपार्क संचालन कार्यविधि बनाएर दिगो रुपमा चलाउने प्रतिवद्धता जनाए । गत बर्ष बनेर पनि बसपार्क संचालनमा आएको छैन । बसपार्क जाने पहुँच सडक बनेको, बिद्युत लाइन जोडेको लगायतको कामबारे उनले जानकारी गराए ।
बसपार्कमा प्लटिङ गरेर जग्गादातालाई जमिन दिने भन्ने शर्त पुरा गर्न दोहोरो खर्च देखिने भएकोले ठेकेदारलाई ताकेता गरेको पनि बताए । त्यसबारे सबै जानकारी दिन आगामी १ गते बसपार्कमै सार्वजनिक सुनुवाइ गर्ने श्रेष्ठले जानकारी समेत दिए । ठूला योजनाकै रुपमा फोहोरको दिगो व्यवस्थापन, औद्योगिक ग्राम र बलेवा जाने सडकको पहिरो नियन्त्रणलाई प्राथमिकीकरण गरेको श्रेष्ठले बताए ।
बलेवास्थित हवाइ मैदान संचालनकालागि भने उनले तत्काल संभव नहुने बताएका थिए । ‘दश पन्ध्र मिनेटमा पुग्ने अबस्था नभएसम्म हवाइजहाज चलाउन सकिंदैन’ श्रेष्ठले भने । फोहोर व्यवस्थापन, ढल निकास, नगरमा शुद्ध खानेपानीको व्यवस्थापन लगायतको काममा निरन्तर लागिरहेको र नतिजा नआएसम्म काम गरेको मात्र भन्न नसकेको श्रेष्ठले बताए ।