प्रतिकात्मक तस्बिर
म्याग्दी, २ जेठ– गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्रे गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् ।
१८ किलोमिटर ५ सय ४० मिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलातेहुँदै चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७५ मंसिरमा ठेक्का सम्झौता गरेको थियो ।
प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको यो आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो ।
आयोजनाका इन्जिनियर विवेक पौडेलले सडक विस्तार, नाली, पर्खाल निर्माणलगायत संरचना बनाउने, बेस, सब बेस राख्ने काम सकिएपछि कालोपत्र गर्न थालिएको बताए । दुई चरणमा सडकमा डिबिएसडी प्रविधिको कालोपत्रे हुने छ ।
२०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाका निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट, प्राकृतिक विपत्ति, कोरोना महामारीलगायतका कारणले लक्ष्यभन्दा तीन वर्षपछि सकिन लागेको हो ।
सडक कालोपत्रे हुन थालेपछि आशा जागेको शिखका सुरेन गुरुङले बताए । शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौँको संख्यामा सवारीमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुग्ने र सहज हुनेछ ।
सडक स्तरोन्नतिपछि घोडेपानीमा पर्यटकको आगमन बढ्ने, शिख र घारवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशुजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए ।