बागलुङ, ४ जेठ– उपल्लो मुस्ताङमा तिजी पर्वको रौनक सुरु भएको छ । यहाँका गुरुङ र बिष्ट समुदायको मुख्य पर्व तिजी मंगलबारदेखि सुरु भएको हो । तिजीको रौनक उपल्लो मुस्ताङको मुख्य बजारक्षेत्र लोमान्थाङमा छ ।
बैशाख महिनामा उपल्लो मुस्ताङका स्थानीयले धार्मिक तथा सांस्कृतिक पर्व तिजी हर्षाेल्लासका साथ मनाउने गर्छन् । बसन्त ऋतुको आगमनसंगै पर्यटकीय चहलपहल हुने भएकाले मुस्ताङमा तिजीको थप रौनक हुने गरेको छ । यहाँका गुरुङ र बिष्ट समुदाय मात्रै होइन घुम्न आउने पर्यटक समेत तिजीमा रम्ने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए । गुरुङका अनुसार परापूर्व कालदेखिको पौराणिक नाचगान गरेर तिजीलाई रमाईलो बनाईन्छ ।
धार्मिक तथा सांस्कृतिक पर्व तिजीलाई भोटे भाषामा ‘तेम्बा चिरिङ’ अर्थात् छोटकरीमा तेन्जी भन्ने गरिन्छ । तर, यो पर्व तेन्जीलाई उच्चारण गर्ने क्रममा परिवर्तन भई तिजी पर्वको रुपमा नामाकरण हुन पुगेको हो । तेम्बा भनेको त्रिलोक अर्थात् (जलथल र वायु) । यी सबैलाई राम्रो होस भनेर तिजी पर्वमा (रिम्डु) पुजापाठ गर्ने चलन रहेको लोमान्थाङका आम्ची घ्याचो बिष्ट बताए ।
लोमान्थाङमा तिजी यसवर्ष बैशाख जेठ २ गतेखि ४ गतेसम्म ३ दिन मनाईने अध्यक्ष गुरुङले बताए । यो पर्वको पहिलोदिन मुस्ताङी राजाको लोमान्थाङ दरबार अगाडीको प्राङ्गणमा लोमान्थाङस्थित छोदे गुम्बाका लामा तथा भिक्षुहरुले देवीदेवताको पुजापाठ र धार्मिक नृत्य प्रस्तुत गर्छन् । पर्वमा लामाहरुले देवीदेवता र राक्षसहरुको मुकुट पहिरिएर नृत्य प्रस्तुत गर्छन् । यसप्रकारका धार्मिक नृत्य अवलोकन गर्नाले मोक्ष प्राप्ती हुने जनविश्वास रहिआएको छ । पर्वको दोश्रो र तेस्रो तथा अन्तिम दिनमा साँस्कृतिक नृत्य प्रर्दशन गर्ने गरिन्छ । तिजीको पहिलो दिन लोमान्थाङ दरबार परिसरमा बौद्ध धर्मको विभिन्न देवीदेवता र रिम्पोर्छेको विशाल थान्का प्रर्दशन गर्ने चलन छ । यो थान्का तिजी पर्वको दिनमा मात्र सार्वजनिक गर्ने गरिएको छ ।
तिजी पर्व दोर्जी सुनुको पुर्नजन्म अर्थात् बज्रकिलाको जीवक कथासंग सम्वन्धित छ । सुनुले पुर्नरजन्म प्राप्त गरी राक्षसको भय र हिंसा अन्त्य गरेको खुसीयालीमा शान्तिको प्रतिकको रुपमा तिजी पर्व मनाउन चलन रहेको भन्ने भनाई छ ।