काठमाडौं, ५ जेठ– सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि साँझ ६ बजे बस्ने प्रतिनिधिसभाको अर्को बैठक साँझ ६ बजे बस्ने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति ‘टेबुल’ गर्नेछन् ।
सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ९ गतेसम्म राष्ट्रिय सभामा छलफल हुनेछ । छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले जेठ ९ गते दिनेछन् ।