पर्वत, ६ जेठ– खेतबारीमा जति मिहेनत गरिएको हुन्छ त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोज्न थालेका छन् । कतिपयले व्यावसायिक रूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् ।
यो नतिजा आउनुको प्रमुख कारण माटो परीक्षण नगरीकनै खेती बाली लगाउनु रहेको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् ।
कृषकलाई व्यावसायिक कृषिमा आकर्षण गर्न माटोको अवस्था अनुसारको खेती गर्न भन्दै गण्डकी प्रदेश सरकारले २०७८ सालदेखि प्रदेशका हरेक कृषि ज्ञान केन्द्रमा माटो परीक्षणका लागि ‘मिनी ल्याब’ स्थापना गरेको १३ महिनामा २२ नमूनाको मात्रै परीक्षण भएको छ ।
निकै सुलभ दरमा माटो परीक्षण हुँदा पनि कृषक भने परम्परावादी तरिकाले खेती गरिरहेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामकृष्ण लामिछानेले जिल्लामा माटो परीक्षण हुन्छ भन्ने थाहा पाए पनि त्यसका लागि नगएको बताए ।
वरिष्ठ कृषि विकास अधिकृत थापाले माटो परीक्षणमा कृषकको चासो निकै कम भएको बताइन् । ‘मान्छे नै बिरामी परेपनि एकदुई दिन हेरौँ, भएन भने लैजाउँला भन्ने मानसिकता छ, माटोको उपचार गर्न कसलाई चासो होस्’ थापाले भनिन् ।
कृषकले परीक्षणका लागि माटो नल्याएको भएपनि ज्ञान केन्द्रले अनुगमन वा कार्यक्रममा गएका बेलामा फरक फरक ठाउँबाट माटोको नमूना ल्याएर परीक्षण गर्दै आएको छ ।
‘पर्वतको माटोमा पिएचको अवस्था ८४ प्रतिशत रहेको पाइएको छ’ थापाले भनिन् । २२ नमूनाको परीक्षणले कृषि उत्पादनलाई बिस्तारै कमजोर पार्दै लगेको थापाको भनाई छ । माटोको शक्ति जोगाउन सबै कृषकलाई ज्ञान केन्द्रले आव्हान समेत गरेको छ ।