बागलुङ, ९ जेठ– चुनावी प्रतिवद्वता अनुसार बागलुङको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले वर्षभरि सेवा सुविधाबापत पाउने रकम सामाजिक कार्यमा खर्चिएका छन् । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा ताराखोलाका अध्यक्षका प्रत्याशी विकले आफु निर्वाचित भए जनप्रतिनिधिले पाउने सेवा सुविधाबापतको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका थिए ।
जनप्रतिनिधिको रुपमा काम गरेको वर्षगाँठमा विकले आइतबार पत्रकार सम्मेलन गर्दै सेवा सुविधाबापतको रकम जनयुद्वका घाइतेदेखि शैक्षिक कोषका लागि हस्तान्तरण गरेका छन् । प्रशासनिक काममा हुने फजुल खर्च घटाएर पालिकाको लागि आवश्यक डोजर खरिद गरेका विकले सेवा सुविधाबापत एक वर्षमा पाउने ४ लाख ४८ हजार ८० रुपैयाँमध्ये १ लाख २२ हजार ८ सय ६९ रुपैयाँ गाउँपालिकाको शैक्षिक कोषलाई हस्तान्तरण गरेका छन् ।
विकले जनयुद्वका घाइते बमबहादुर रोका ‘प्रशान्त’लाई ७० हजार, नीति स्वकीय सचिव धनबहादुर घर्तिलाई १ लाख १६ हजार, पत्रकार सम्मेलन खर्चका लागि जकेन्द्र विकलाई ६० हजार, पार्टी लेबीका लागि केन्द्रिय सदस्य निरमाया श्रीलाई ७३ हजार २ सय १२ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाले बढ्दो विदेश पलायनलाई रोक्न श्रम बैंक कार्यक्रम संचालन गरेको छ भने बसाइसराई रोक्नको लागि बाँझो जमिन सदुपयोग गर्ने नीति समेत लिएको छ । पूर्वाधारतर्फ ७२ प्रतिशत प्रगति गरेको गाउँपालिकाले सामुदायिक विद्यालयलाई अब्बल बनाउन जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने नीति कार्यान्वयनमा ल्याएको छ ।