बागलुङ, ९ जेठ– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरुलाई प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । वनको उपयोगमार्फत आयआर्जनमा बृद्धि गर्नुपर्ने भन्दै मन्त्री थापाले गण्डकी प्रदेश सरकारले छिट्टै वन ऐन ल्याउने तयारीमा रहेको बताए ।
‘म मन्त्री भएपछि २१ दिनभित्र वन ऐन तयार गर्न कार्यदल बनेको छ, ऐन ल्याउने र वनको संरक्षण र उपयोग दुवै गर्नुपर्ने पक्षमा छौं’ थापाले भने ‘ऐन आएपछि नियम बन्छ र तत्काल कार्यान्वयनमा जान्छ ।’ थापाले बिद्यमान कानूनहरुका कारण वनमा काठहरु कुहिने र खेर जाने तर निर्माण कार्यमा आवश्यक काठको साटो विदेशी सामग्री आयात गरेर ल्याउनुपर्ने बाध्यता रहेको बताए ।
थापाले वन क्षेत्रमा रहेका काठजन्य र वातावरणमैत्री रुखहरुको संरक्षण गर्दै जडिबुटीको खेती गर्नुपर्नेमा जोड दिए । सरकारी र सामुदायीक वनको प्रयोगमार्फत आयआर्जन बृद्धि गर्न गण्डकी प्रदेशभरी कयौं सम्भावना रहेको थापाले उल्लेख गरे ।
बागलुङको जैमिनी नगरपालिकाले थापाको सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै थापाले स्थानीय तह र प्रदेशको कार्यक्षेत्रको बिषय किटान हुनुपर्ने बताए । स–साना योजनाको काम स्थानीय सरकार र ठुला योजनाको काम प्रदेश तथा संघीय सरकारले गर्नुपर्ने उनको धारणा थियो ।
‘बाईस वटा खानी हाम्रै हुन्, खानीहरुको खोजी र उत्खनन्को काम अघि बढानुपर्ने छ’ थापाले भने ‘हिजो भएकै थिए, अब हामीले नै गर्ने हो ।’ पर्यटनमा घरबासको महत्वपूर्ण भूमिका रहने भन्दै थापाले घरबासहरु सेवा सुविधाका बिषयमा उपभोक्ताले अग्रिम जानकारी पाउने व्यवस्था मिलाउनुपर्ने बताए ।