बागलुङ, ११ जेठ– कालिीगण्डकी नदीबाट अबैध रुपमा गिट्टी बालुवा तथा ढुंगा उत्खनन् गरेर ओसार–पसार गरिरहेको अबस्थामा प्रहरीले आठ ट्याक्टर नियन्त्रणमा लिएको छ ।
बागलुङ नगरपालिका–१ को खनियाघाटबाट गिट्टी, बालुवा र ढुंगा उत्खनन गरेर ढुवानीका लागी तयारी अवस्थामा रहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
सर्वोच्च अदालतको आदेशपछि स्थानीय तहले कुनै पनि नदीजन्य पदार्थ उत्खनन्का लागि अनुमति दिएका छैनन् । बिना अनुमती उत्खननको खबर पाएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले ध१त ३३५, ध१त ३४३, ध१त ३८८, ध१त ५८९, ध१त ४६७, ध१त २१३, ध१त २४१ र लु५त १२६७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका सबै ट्याक्टरहरु बागलुङ नगरपालिकाको जिम्मा लगाईएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । ‘अबैध उत्खनन गरेको भेटेपछि नियन्त्रणमा लिने हो, तर कारवाही गर्ने अधिकार प्रहरीलाई छैन्’ केसीले भने ‘जरिवाना गर्ने अधिकार नगरपालिकालाई छ, उहाँहरुले नै जरिवाना गर्नुहुन्छ ।’
कालीगण्डकी नदी किनारको गिट्टी, बालुवा उत्खनन्को बिषयमा बेला बेलामा चर्चा हुने गरेको छ । नदीको प्राकृतिक स्वरुपनै मासिने गरी उत्खनन् भएको भन्दै अधिकारीवादीहरुले दायर गरेको रिटमा सर्वाेच्च अदालतको अन्तरिम आदेशपछि ठेक्कापट्टाद्वारा हुने उत्खनन् पनि बन्द छ ।