तस्बिर : खेमराज गौतम सुवास
बागलुङ, १३ जेठ– गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त भएको छ । बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेर आवधिक योजना बनाएपछि शनिबार गलकोटले बालमैत्री नगर घोषणा गर्न लागेको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले घोषणाको औपचारिकता शनिबार दिनेछिन् ।
तीन बर्षदेखिको अथक प्रयासबाट नगरपालिकाले यो उपलब्धी पाउन लागेको हो । यो उपलब्धीलाई नगरप्रमुख भरत शर्मा गैरेले आफ्नो कार्यकालको महत्वपूर्ण कामको रुपमा चिनाएका छन् । ‘यो मेरो नेतृत्वको नगरपालिकाले गरेको अघिल्लो कार्यकालदेखि अहिलेसम्मकै महत्वपूर्ण काम हो’ गैरेले भने ‘यो अभियानमा साथ दिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय संघसंस्था, आम नागरिकको मेहनतबाट एउटा परिणाम दिएका छौं ।’

बालमैत्री नगर घोषणा गर्ने नगरपालिकाले तीन बर्षअघि निर्णय गरेको थियो । त्यसपछि वडा र समुदाय तहसम्म बालमैत्री स्थानीय शासन कार्यान्वयन समिति बनाइएको थियो । घर घरमा बालबालिकालाई गर्ने व्यवहारदेखि बिद्यालय तहमा पढाउने तरिका, स्वास्थ्य र सरसफाइका सबै सूचक पुरा गर्दै नगरभित्र बन्ने सबै संरचनामा बालमैत्री सूचक पुरा गर्ने लक्ष पुरा भएको हो ।
‘हामीले ५ बर्षे रणनीतिक योजना पनि बनाएका छौं’ नगरप्रमुख गैरेले भने, ‘हरेक बालबालिकाले सुरक्षित जन्म हुन पाउने अधिकार पाउनुपर्छ भन्ने मान्यता विकास गर्दै सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना पनि भएका छन् ।’ बर्थिङ सेन्टरमा तालिमप्राप्त प्रसुतीकर्मी छन् । रणनीतिक योजनाका सूचक पुरा भएका हुन् ।
बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ मध्ये १२ वटा शिक्षा र १३ वटा सूचक स्वास्थ्य क्षेत्रबाट पुरा गर्नुपर्ने व्यवस्था छ । समुदाय तहले पुरा गर्नुपर्ने सूचकमध्ये बालबिबाह अन्त्य गर्नुपर्नेलाई सचेतनापूर्वक लिन थालिएको उपप्रमुख फमलाल निउरेले बताए ।