बागलुङ, २५ जेठ– नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको आयोजना र नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको समन्वयमा धौलागिरि अस्पतालमा भर्ना भएका ५५ जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।
फलफुल वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरप्रमुख एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले स्वास्थ्य क्षेत्र निकै संवेदनशील भएकाले सबैले चासो दिनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा सुधारको आवस्यकता भएको पनि श्रेष्ठले बताए ।
धौलागिरि अस्पताललाई दुई सय शैयाको बनाउन नगरपालिकाले पनि मुख्यमन्त्रीसँग कुराकानी गरेकोले पूर्वाधार निर्माण र दरबन्दी व्यवस्थापनमा गम्भिर बन्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस नेता जगदीशचन्द्र उपाध्याय, स्वास्थ्य प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनाल लगायतले बोलेका थिए ।
नेपाल स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष देवप्रकाश घिमिरे र सञ्चालन जिल्ला सचिव शिव केसीले गरेका थिए ।