बागलुङ, २६ जेठ– निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको अध्यक्षतामा सरकारी कार्यालयका सूचना अधिकारीको बैठकमा बिहिबार सूचना सार्वजनिक गर्ने कामलाई सहज बनाउने निर्णय भयो ।
जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा सरकारी कार्यालयका सूचना अधिकारी कतिपय सूचनाबिहिन भएको र कतिपयले सूचना लुकाएको आरोप लागेको छ । सही समयमा सूचना नदिंदा आम नागरिक सूचनाको हकबाट बञ्चित भएको चर्चा भयो ।
सहायक प्रजिअ बरालले सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमाबली २०६५ को प्रावधानबारे प्रस्तुतीकरण गरे । उनले सूचना आम नागरिकको अधिकार भएको भन्दै सूचनालाई आम नागरिकसम्म लैजाने मुलुकहरु अहिले पनि विकासको अग्रणी भएको बताए । तीन सय बर्षअघि सूचना सम्बन्धी कानून ल्याएको स्विडेन, डेनमार्क विकासमा अगाडि बढेको भन्दै नेपालमा कानून आउन ढीला भएकोले अब सूचना प्रवाहमा ढीला गर्न नहुने बताए ।
उनको प्रस्तुती र बिहिबारको निर्णयले जिल्लाका सरकारी कार्यालयबाट सूचना सार्वजनिक हुनुको साटो लुकाउनेमा लागेको टिप्प्णी भयो । सुशासन र लोकतन्त्रको संस्थागत विकाका लागि सूचनाको हक प्रयोगमा आउनुपर्ने बरालको भनाई थियो । ‘हामीले नेपालमा आउन मिल्ने जति व्यवस्था र पद्दती बसाल्यौं, तर अब सुशासनमा हामीले काम गर्नुपर्ने छ’ उनले भने, ‘अब हामीले संस्कृतिको विकास गर्ने की बिकृतिको थालनी गर्ने भन्ने प्रश्न बाँकी छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव तारानाथ आचार्यले सूचना सार्वजनिक गर्ने भन्दा सूचना लुकाउने काममा लागियो भने नेपालमा लोकतन्त्र संस्थागत हुन नसक्ने बताए । उनले अझैपनि कतिपय कार्यालय सूचनामैत्री र कतिपय कार्यालय सूचनामा पुर्वाग्रही भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले सूचना प्रवाह गर्दा सही तथ्यांक लिएर प्रवाह गरियो भने आम नागरिकलाईपनि सही सूचना जाने बताए । उनले समन्वय कार्यालयको हैसियदले अन्य कार्यालयको सूचना संकलनगर्दा आँफैपनि समस्यामा परेको बताए ।
धौलागिरि अस्पतालकी नर्सिङ अधिकृत शान्ति भण्डारीले सही सूचना प्रवाह नगर्दा आउने समस्या धेरै सही सूचना दिएर पनि हटाउन नसक्ने बताइन् । अस्पतालको सेवाबारे नकारात्मक सन्देश नदिन र आएका सूचनालाई दोहोरो प्रमाणिकरण गरेर मात्र प्रकाशन गर्न पनि आग्रह गरिन् । अफवाह फैलने गरी युट्युब र सामाजिक संजालबाट सूचना आएको उनले गुनासो गरिन् ।